
तैपनि हाँसिएकै छ
Play all audios:

काठमाडौं — नब्बे सालमा ७ वर्षको हुनुको अर्थ अहिले ९० वर्षै पुग्नु हो । कमलबहादुर सुवालको उमेर त्यति नै भयो । दुइटा महाभूकम्प र तिनका हजारौं परकम्पले हल्लाए पनि उनको ज्यान गलेको छैन । बरु
धपक्क बलेको छ । बिहीबार बिहान भक्तपुरको ब्यासीस्थित भूकम्पपीडित शिविरभित्र गफिइरहेका उनले सल्लाह दिए, ‘हाँस्नुहोस्, रोग लाग्दैन ।’ <?xml encoding="UTF-8"??> ‘रोएर के गर्नु ?’
छेउमै बसेकी उनकी श्रीमती कृष्णकुमारीले सही थपिन्, ‘रुँदैमा न भत्किएको घर आउँछ, न खान–लाउन पाइन्छ । बरु हाँस्यो, शान्ति मिल्छ ।’ बेलायती राजकुमार ह्यारी गत चैत ७ गते यही शिविरमा छिरेका थिए ।
ठ्याक्कै कमलबहादुर–कृष्णकुमारीकै टेन्टभित्र । एसएलसीको तयारीमा रहेकी उनीहरूकी नातिनी आकृतिलाई उनले सोधे, ‘टेन्टको बसाइ कस्तो छ ? परीक्षाको तयारी कस्तो गर्दैछ्यौ ?’ आकृतिले बसाइ पीडादायी भए
पनि आफूले मेहनत राम्रो गरिरहेको सुनाइन् । छेउबाट हजुरबुवा–हजुरआमाले मीठो मुस्कानको स्वागत गरे । बाहिर निस्किएर ह्यारीले भने, ‘विपत्मा पनि तपाईंहरूको मुहारमा हाँसो देख्दा म लठ्ठ भएँ ।
तपाईंहरूको जीवन जिउने शैलीलाई मान्नैपर्छ ।’ संयोगवश हामी पनि त्यही टेन्टमा छिरिएछ । कानमा न्हेप सिकचा अर्थात् जंकु टिसा लगाएका कमलबहादुर जोसिला देखिन्थे । यो गहना ७७ वर्ष ७ महिना ७ दिनमा भीम
रथारोहण (जंकु) गर्दा लगाइदिने चलन छ । कृष्णकुमारीको कानमा पनि गहना चम्किइरहेका थिए । त्यसभन्दा धेरै चम्किएका थिए उनका दाँतहरू । भूकम्पको क्षण सम्झिँदा भने उनले थाम्दाथाम्दै झन्डै आँसु
झारिन् । उनी काउली बारीमा थिइन् । बूढा टोलको पाटीमा त्यस्तै दौंतरीसँग गफिइरहेका । बुहारी घरमा । छोरो कता हो कुन्नि । नातिनीहरू भक्तपुर दरबार स्क्वायर घुम्न गएका । ‘गडङडङ गर्दै भुइँचालो आयो ।
धूलो उड्यो । सहरै लडेको देखियो,’ उनले सुनाइन्, ‘चारतिर मरिने भइयो भनेर डर लाग्यो । भगवान्को कृपाले धन्न कसैलाई केही भएन ।’ शिविरमा उनकी बुहारी गाग्रीमा पानी लिएर आइरहेकी थिइन् । ३९ नम्बर
गाग्री । टोलको ढुंगेधारा सुक्यो । पानीको हाहाकार भयो । सबै मिलेर ट्यांकरमा ल्याउने, ट्यांकीमा हाल्ने र त्यही ढुंगेधारामा खसाल्ने गर्न थाले । त्यसका लागि हरेक परिवारका एउटा–एउटा गाग्रीलाई
नम्बरिङ गरे । ‘नम्बर भनेको पालो हो,’ उनले भनिन्, ‘मेरो पालो सधैं ३९ नम्बरमा आउँछ ।’ महाभूकम्प गएको वर्ष दिन पुग्यो । अझै थोत्रा पाल र जस्ताका शिविरमा हजारौं परिवार बसिरहेका छन् । हिउँद रातभर
शीतले नुहाएर बित्यो । बर्खा लाग्यो, अब पानी नथामिने अवस्था छ । केही पहिला ठूलो हावाहुरी चल्यो । शिविरमा बिचल्ली भयो । गोर्खाका हिउँ पर्ने ठाउँमा समेत खुला आकाशमा भूकम्पपीडितले दिन–रात
गुजारे । यो बर्खाभरि यस्ता दिन कति आउलान् । नेपालको भूकम्पमा धेरै सहयोगी मनहरू ओइरिए । आपत्कालीन भरथेग नभएको होइन । तर, त्यसभन्दा धेरैले यसलाई गतिलो ‘खेती’ बनाए । सहयोग बटुल्ने ‘ठेक्का’ लिए
। पीडितसम्म नपुर्याई आफू धनाढ्य भए । ‘क्राउड फन्डिङ’ साइट खोलेर करोडौं डलर बटुले । नेपालका नाममा माग्ने यति धेरै भए । अनेक कला प्रयोग गरेर मागे । पछि भागे । एनजीओ/आईएनजीओ ओइरिए । दाताहरूको
लर्को लाग्यो । सहयोगको आँकडा ठूलो देखाए । कतिले शतप्रतिशत, अरूले अधिकांश अंश प्रशासनिक खर्चका नाममा आफैंले झ्वाम पारे । दुनियाँले देख्दा भूकम्पपीडितले के–के न पाए भन्ने भयो । तर, वास्तविकता
ठीक उल्टो भयो । उनीहरू ह्वाङग टेन्टमा मच्छडलाई टोकाउँदै रात गुजारिरहेका छन् । नपत्याए राजधानीभित्र भक्तपुरकै ब्यासी वा डेकोचाका शिविरमा हेर्न जानुहोस्, जहाँ पीडितले पानीसम्म पिउन पाएका छैनन्
। बिहीबार हामी पुग्दा डेकोचाको प्रवेशद्वार छेउको शिविरबाहिर छेउमा बैसाखी राखेर कृष्ण कुसाथा बसिरहेका थिए । घुँडाको बिराम लागेर अशक्त भएका उनी करिब १० वर्षदेखि बैसाखीको सहारामा छन् । गत वर्ष
भूकम्प आउँदा उनी भोलाछेँस्थित घरमै थिए । एक आना तीन पैसा दुई दाममा बनेको उनको घर गल्र्यामगुर्लुम ढल्न थाल्यो । कोही बाहिरै थिए । सक्नेहरू ज्यान जोगाउन भागिगए । घस्रिएर बाहिर–भित्र गर्ने उनी
भगवान् पुकार्दै बसिरहे । अरू उपाय थिएन । ‘भगवान्ले देखेरै हुन सक्छ,’ उनले भने, ‘घर सबैतिर लड्यो । म बसेको ठाउँ मात्र लडेन । पछि अरूले आएर निकाले । भाग्यले बाँच्न पाएँ ।’ उनीजस्ताका लागि
शिविरको जिन्दगी अत्यन्त दर्दनाक छ । ‘महिनाको ६ हजारको औषधि मात्र खुवाउनुपर्छ,’ उनकी श्रीमती सानुकेसरीले भनिन्, ‘ऋणऋणै भइसक्यो ।’ जसले पनि आएर सोध्ने मात्र, सहयोग र व्यवस्थापन गर्ने कोही
नआउने भन्दै उनी आक्रोश पोखिरहेकी थिइन् । उनी मात्र होइन, शिविरका अरूसमेत बोल्न मानिरहेका थिएनन् । भन्थे, ‘हामीले कतिलाई जवाफ दिनु । जसले जतिपल्ट बुझे पनि हामीलाई खोइ के भयो ?’ ‘पानी छैन ।
बजारका धारामा हप्तामा एकपल्ट आउँछ । माग्न जाँदा गाली खानुपर्छ,’ उमेश सिजाख्वाले भने, ‘लोडसेडिङमा ओढारमा बसेजस्तो अन्धकार हुन्छ । जस्ता तातेर हपहपी गर्मी हुन्छ । पानी पर्दा शिविरभित्र आहाल
लाग्छ । कसैले फर्किएर हेरेकै छैन ।’ राजधानीकै शिविरको हालत यस्तो छ, बाहिर झन् कन्तबिजोग छ । अझै कति यही हालत हुने हो, टुंगो छैन । किनकि, भूकम्पको वर्ष दिन यसरी बित्यो-पुनर्निर्माणमा राजनीति
घुस्यो, हानथापमै समय गयो ।आंशिक राहतबाहेक पीडितले केही पाएनन्, आस मात्रै पाए ।कतिपय घाइतेले भरपर्दो उपचार पाएनन्, कष्टकर हालतमा छन् ।आई/एनजीओहरू ओइरिए, आफ्नै सुविधामा रकम खर्चिए ।नाङ्लामा
जुट्यो सहायता, छरियो दुनामा ।सरकारी नियकायहरूले विपत्तिलाई अवसर बनाए, रमाए ।स्वास्थ्य/शिक्षालयहरू पुरिए, बाहिरै काम चलाइयो ।हजारौंले पाल फटाए, अर्को बर्खामा पनि ओत पाएनन् ।भवनसंहिताको कुरा
गरियो, काम गरिएन ।विश्व सम्पदाहरू ध्वस्त भए, फर्किएर हेरिएन ।पर्यटन व्यवसाय चौपट भयो, सुधार्ने योजना देखिएन ।चेत्यौं, बिर्सियौं, प्रविधि/पाविधिक पक्षमा बच्चै रह्यौं । जता हेर्यो, उतै
निराशाजनक अवस्था छ । एउटै आसलाग्दो कुरा... हामी नेपालीजस्तै दु:खमा पनि हाँसिरहन्छौं । त्यसलाई पनि मनोविज्ञहरू भन्छन्, ‘हामी हाँसिदिन्छौं । नबुझ्नेले राम्रै रहेछ ठान्छ । केही गर्दैन । थोरबहुत
सहयोग त्यस्तो व्यक्तिले पाउँछ, जसले नाटकीय आँसु झार्छ । हाँसेर कहिलेकाहीँ हामीले हार्नुपरेको छ ।’ पुन:निर्माण, पुन:स्थापना र अन्य व्यवस्थापनमा भएको ढिलाइ आक्रोशको मूल कारण हो । हेर्दा आलटाल
देखिए पनि विधि पुर्याउन समय लागेको सरकारको भनाइ छ । ‘सरकार बनेको छ महिना भयो । तीन महिना त कानुन बनाउनै लाग्यो । लोकतान्त्रिक मुलुकमा बिनाकानुन केही गर्नै पाइँदैन । त्यसलाई पनि सहमतिमै
गरौं भन्ने ठानियो । बेलामा सहमति जुट्न सकेन । फलानालाई सीईओ बनाउने गरी कानुन बनाउने भन्ने तर्क सारिए’, अर्थमन्त्री विष्णु पौडेलले भने, ‘कानुन बनाउनासाथ प्राधिकरणको सीईओ राख्यौं । यसबीच
कार्यविधि निर्माण र डकुमेन्ट तयारीका काम पनि पूरा गरेका छौं ।’ उनले अघिल्लो सरकारले विश्व बैंकसँग ‘बेनिफेसरी सर्भे नगरी पुन:निर्माण नगर्ने सम्झौता’ गरेको पाएपछि थप झमेला बेहोर्नुपरेको सुनाए
। ‘एकैचोटि सर्भे गर्न हजारौं जनशक्ति चाहिन्छ । नगरौं, सरकारले सम्झौता गरेको रहेछ,’ उनले थपे, ‘त्यही भएर द्रुत परिचालन गर्यौं । ११ जिल्लाको सकिइसकेको छ ।’ अर्थमन्त्री पौडेलले दुई लाख
अनुदानको पुरानो निर्णयलाई परिमार्जन गरी सामूहिक जमानीमा थप ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तय गरिएको, न्यायो कपडाको कार्यक्रम ल्याएको, सुरुको १५ हजार रुपैयाँलाई अनुदानमा बदलेको
जानकारी दिए । योजना आयोगका पूर्वउपाध्यक्ष गोबिन्द पोखरेलले पुनर्निर्माणमा सरदर ६ महिना ढिला भएको टिप्पणी गरे । ‘ढिलै भए पनि प्राधिकरण गठन भयो । त्यसले केही तत्परता देखाएकै छ । कार्यविधि
बनेको छ । स्थानीयस्तरसम्मकै संयन्त्र स्थापित भएको छ,’ उनले मूल्यांकन गरे, ‘तर सरकारबाटै प्राधिकरणलाई राम्रो सहयोग भएको छैन । पर्याप्त कर्मचारी उपलब्ध गराइएको छैन ।’ पुन:निर्माणमा बरु समय नै
लागोस्, तत्कालीन व्यवस्थापन र सुरक्षित अस्थायी आवास अपरिहार्य देखिएको छ । अहिलेका हालतका शिविरमा यो बर्खा बिताउन लगाउनु अमानवीय देखिन्छ । त्यसमा सरकारले हेरोस् भन्ने पीडितको चाहना छ । त्यसमा
अर्थमन्त्रीको आश्वासन छ, ‘बर्खा नलाग्दै सुरक्षित आवासको व्यवस्था गर्ने तयारी भइरहेको छ ।’ त्यति भए हाँसो अझ मनैदेखि आउने थियो कि ? प्रकाशित : वैशाख १२, २०७३ ११:२१ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com