
एमयूमा ‘हेल्मेट शिक्षक’ माथि कडाइ
Play all audios:

सुर्खेत — स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेज चहार्दै पढाउने प्रवृत्तिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) लाई पनि गाँजेको छ । पछिल्लो समय एमयूले ‘हेल्मेट शिक्षक’ भनेर चिनिने
त्यस्ता प्राध्यापकमाथि कडाइ गरेको छ । <?xml encoding="UTF-8"??> उपकुलपति नन्दबहादुर सिंहले यो प्रवृत्ति अन्त्य गर्न स्थायी र करार प्राध्यापकले दैनिक ७ घण्टा अनिवार्य रूपमा
विश्वविद्यालयमा बिताउनुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिएको बताए । मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, ‘अब एमयूमा जागिर खाएर मोटरसाइकलमा कलेज चहार्दै हिँड्ने दिन गए,
आवश्यक परे हामीले कलेजको अनुगमनसमेत गर्नेछौं ।’ स्थायी र करार प्राध्यापकले अन्यत्र बढी समय दिँदा विश्वविद्यालयले अनावश्यक रूपमा ‘पार्ट टाइम’ र कोर्स करारमा शिक्षक राख्ने गरेको थियो । गत
फागुनमा उपकुलपति नियुक्त भएपछि सिंहले कोर्स करारमा रहेका सबै शिक्षकलाई सेवामुक्त गरेका छन् । विश्वविद्यालयको ऐन र नियमावलीमा स्कुल अफ म्यानेजमेन्ट (मुसोम) बाहेक अन्यत्र कोर्स करारमा राख्न
पाइने व्यवस्था नभएको उनले बताए । ‘अब पूर्णकालीन सेवामा रहेका प्राध्यापकलाई ‘वर्क लोड’ पुगेपछि मात्र आवश्यकताका आधारमा आंशिक शिक्षकलाई नियुक्त गरिनेछ,’ उनले भने, ‘मनलाग्दी तबरले कक्षा दिएर
भर्तीकेन्द्र बनाउने समस्या अन्त्य गरिएको छ ।’ भएका जनशक्तिलाई पूर्ण रूपमा काम दिन र अनावश्यक जनशक्ति नथोपर्न विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारीले अनिवार्य पढाउनुपर्ने निर्णय पनि
गरेको छ । उपकुलपति सिंहले ओभरटाइम (ओटी) खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेसासँग जोडिराख्न यस्तो निर्णय गरिएको बताए । ‘नयाँ शैक्षिक
सत्रदेखि नै पदाधिकारीलाई पढाउने गरी रुटिनमा राख्न निर्देशन दिइएको छ,’ उनले भने, ‘यसले विश्वविद्यालयका पदाधिकारीलाई आफ्नो मूल जिम्मेवारी (प्राध्यापन) सँग भावनात्मक रूपमा नजिक पनि बनाउनेछ ।’
उनका अनुसार उपकुलपति र रजिस्ट्रारले महिनामा २ कक्षा, डिन, कार्यकारी निर्देशक वा सो सरहका पदाधिकारीले महिनामा ४ कक्षा, सहायक डिनले महिनामा ६ कक्षा, क्याम्पस प्रमुखले महिनामा ८ कक्षा र सहायक
क्याम्पस प्रमुखले नियमितसरह कक्षा लिनुपर्ने निर्णय गरिएको छ । सिंहले चालू शैक्षिक सत्रमै स्वास्थ्य विज्ञान र कृषि तथा वन विज्ञान संकायका साथै कर्णाली आदिवासी ज्ञान सीप तथा प्रविधि शिक्षालय
(किक्स्ट) र अनुसन्धान र विकास केन्द्र (आरएन्डडी सेन्टर) संकाय स्थापना गर्ने निर्णयसमेत गरिएको जानकारी दिए । प्रकाशित : पुस २१, २०७७ १२:५९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com