
होमस्टे चलाउने आमाहरु
Play all audios:

काठमाडौँ — बुढ्यौली उमेर भएपनि जोश जाँगर रत्तिभर घटेको छैन, स्याङ्जा सिरुबारीकी ६७ वर्षिया चन्द्रावती गुरुङको । २३ वर्षदेखि सिरुबारी होमस्टे चलाएर बसेकी उनको दैनिकी गुरुङ पहिरनमा सजिने,
नौमती बजाउँदै फूलमाला लाएर पाहुनाको स्वागत/सत्कार गर्ने र उसैगरी बिदाइ गर्नेमा बित्छ । सधैं उर्जाशील भइरहनुमा उनका कान्छा बुबाको उत्प्रेरणा जोडिएको छ । <?xml
encoding="UTF-8"??> ‘कान्छा बुबा भारतीय सेनाको जागिरे हुनुन्थ्यो, पाहुनालाई कसरी स्वागत गर्ने, खुसी पार्ने सिकाउनुहुन्थ्यो, अनि छरछिमेकी भएर होमस्टे खोल्यौं,’ उनले भनिन् ।
पोखराबाट दुई घन्टाको गाडीयात्रा गरेपछि पुगिने सिरुबारीमा उनीसँगै १७ घरमा होमस्टे छन् । सुरुका वर्षमा गाउँमा मोटरबाटो पुगेको थिएन । पदयात्रा गर्ने विदेशी पर्यटकहरु घुमफिर गर्न पुग्थे । उनीहरु
स्वागत गर्न गाउँ छिर्ने बाटोसम्म पुग्थे । ‘नौमती बाजा बजाउँदै फूलमाला लगाएर ‘टुरिस्ट’ लिन जान्थ्यौं, भरिया पठाएर गाउँसम्म भारी ल्याइदिन्थ्यौं,’ उनले भनिन् । यसरी सुरु भएको होमस्टे यतिबेला
व्यवसायिक भएको छ । मोटरबाटो पुगेसँगै नेपाली पर्यटकहरुको चाप ह्वातै बढेको छ । महिनामा एकहजार बढी पर्यटक पुग्छन् । सिरुबारीका होमस्टेमा आलोपालो गरेर पाहुना राख्छन् । महिनामा २३ हजार बचत हुन्छ
। पति र छोराबुहारी सहितको चार परिवारलाई होमस्टे चलाए बापतको आम्दानीबाट खर्च कटाएर मासिक २३ हजार रुपैयाँ बचत गर्छन् । सामान्य खेतीपाती गरेर चलेको जिविका होमस्टे चलाएपछि आर्थिक उपार्जनतर्फ
मोडियो । भन्छिन्, ‘बुढ्यौली उमेर भएपनि खर्चबर्चका लागि कसैको भर पर्नुपरेको छैन ।’ कास्कीको ल्वाङ सामुदायिक होमस्टे सञ्चालक डम्मरकुमारी गुरुङ ६५ वर्ष लागिन् । मार्दी हिमालको पदयात्रा गर्ने
पर्यटकहरुले होमस्टे भरिभराउ हुन्छ । १५ घर होमस्टेमा आलोपालो गरेर पाहुना राख्छन् । पर्यटक आएपछि छरछिमेकी सात/आठ आमाहरु भेला भएर पकाइतुल्याइ गर्छन् । पर्यटकलाई मकै, सेलरोटी, साग, आलु,
गुन्द्रकका परिकारको स्वाद चखाउँछन् । बेलुकी गुरुङ संस्कृतिको नाचगान हुन्छ । होमस्टे चलाएर मासिक २० हजार आम्दानी हुन्छ । पति देवराज गुरुङ र उनलाई होमस्टे आम्दानीको स्रोत बनेको छ । दुई छोरीहरु
पोखरामा जागिरे छन् । छोराबुहारी बेलायत बस्छन् । उनी भन्छिन्, ‘होमस्टेले गर्दा रोजगारी पाएका छौं, खाली भएर बस्नुपरेको छैन ।’ घान्द्रुककी ६४ वर्षीया दिलकुमारी गुरुङलाई होमस्टेले जीवनयापन सहज
बनायो । पति अपांग भएकै कारण दुई छोराछोरीसहित चारजनाको परिवार धान्ने जिम्मा उनैको काँधमा थियो । घान्द्रुक घुम्न आएका पर्यटकलाई गुरुङ पहिरन लगाउन दिएर फोटो खिचाएबापत पाएको पैसाले घरखर्चको जोहो
हुन्थ्यो । १५ वर्षसम्म यसैगरी जिविका धानिन् । पर्यटकहरुले चिया, खाजा, खानाको व्यवस्था गर्न होमस्टे खोल्न उक्साउँथे । उनीहरुकै उक्साहटले आठवर्षअघि आफ्नै नामको ‘दिलकुमारी होमस्टे’ खोल्न सफल
भइन् । उनको होमस्टेमा तोङ्गबा, सुकुटी, गुन्द्रुक भटमासको अचार, दालभात लगायत अर्गानिक परिकार बन्छन् । महिनामा दुईसय बढी पर्यटक आउँछन् । खर्च कटाएर २० हजार बचत हुन्छ । भन्छिन्, ‘विगतका संर्घष
सम्झिँदा कहाली लाग्छ, होमस्टेले मेरो जीवन सहज बनाइदिएको छ ।’ छोरा दिपक भारतीय सेनाका जागिरे छन् । बुहारी टिकाश्री गुरुङ पोखराको एक स्वास्थ्य संस्थामा काम गर्छिन् । दिलकुमारी पति निमबहादुरसँग
होमस्टे चलाउँछन् । अन्नपूर्ण, माछपुच्छ्रेको दृश्यालोकन गर्दै पदयात्रा गर्ने पर्यटकहरुको चाप भइरहन्छ । काँचो कटहर नाँच, गुरुङ भेषभूषाका पहिरन होमस्टेका आकर्षण हुन् । आइतबार अन्तर्राष्ट्रिय
श्रमिक महिला दिवसको अवसर पारेर चन्द्रावती, डम्मरकुमारी र दिलकुमारीसहित कास्की, स्याङ्जा र लमजुङका ६ महिलालाई महिला उद्यमशीलता र पर्यटन व्यवसायमा अग्रणी भूमिका निभाएको भन्दै माइती नेपालले
सम्मान स्वरुप कदरपत्रसहित जनही १० हजार नगद पुरस्कार दिएको थियो । प्रकाशित : फाल्गुन २५, २०७६ २१:१८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com