
‘सीमांकनमा सहमति नजिक’
Play all audios:

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकन हेरफेरमा सत्तारूढ दल र मधेसी मोर्चा सहमति नजिक पुगेको बताएका छन् । <?xml encoding="UTF-8"??> मोर्चा र संघीय गठबन्धनका
नेतासँग शनिबार अपराह्न अनौपचारिक वार्तापछि केही सञ्चारकर्मीसँग साँझ बालुवाटारमा कुराकानी गर्दै दाहालले सीमांकनसहित चार विषयमा संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी भएको बताए । शनिबारको
छलफलका आधारमा आइतबार ४ बजे बस्ने औपचारिक वार्ताले संशोधन प्रस्तावलाई मूर्त रूप दिने उनले विश्वास व्यक्त गरे । ‘सातै प्रदेशमा केही हेरफेर गर्ने गरी छलफल भएको छ, त्यसमा के–के गर्न लागेका छौं
भन्नेबारे म आजै खुलाउन चाहन्नँ, संविधान संशोधनको वातावरण बिग्रन सक्छ,’ दाहालले भने, ‘तर अहिलेसम्मको छलफल सीमांकनमा सहमतिको एकदमै नजिक छ । हामीले गरेको तयारीमा प्रतिपक्षी दल एमाले पनि सहमत
हुन सक्ने गरी कुराकानी अघि बढेको छ ।’ दाहालले उक्त प्रस्तावमा सहमति नजुटे संवैधानिक व्यवस्थाबमोजिम बन्ने आयोगलाई कार्यादेश दिन सकिने विकल्प पनि दिए । शनिबारको वार्तामा दाहालसहित कांग्रेस
सभापति शेरबहादुर देउवा, तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण थिए । उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र
कृष्णबहादुर महरा पनि साथै थिए । दाहालले भाषा, नागरिकता, राष्ट्रिय सभा र सीमांकनमा सहमति नजिक पुगेको बताए । नागरिकतासम्बन्धी व्यवस्था अन्तरिम संविधानकै भावना पछ्याउँदै हेरफेर हुन लागेको उनले
दोहोर्याए । दाहालले विशेष दूत हुँदै ब्रिक्स र बिमस्टेकको गोवा भेटसम्म पुग्दा छिमेकीसँग सम्बन्ध र त्रिदेशीय साझेदारी एउटा उचाइमा पुगेको पनि बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङले
डिसेम्बरभित्र नेपाल भ्रमण गर्ने गरी डेलिगेसन र छुट्टाछुट्टै स्तरमा कुराकानी अघि बढे पनि सीले अर्को वर्ष लाग्न सक्ने संकेत गरेको दाहालले बताए ।‘चिनियाँ पक्षले गोवामै समझदारी गरौं भनेको थियो’,
दाहालले गोवा भ्रमण क्रममा तीन कार्यकारीको भेटले बढी चर्चा पाए पनि ‘धेरै चर्चा नभएको’ पक्षबारे खुलासा गरे । ‘चिनियाँ पक्षको जोड गोवामै नेपाल र चीनबीच केही सम्झौता गरौं भन्ने थियो, मैले दुई
पक्षीय समझदारी कि त काठमाडौंमा कि त बेइजिङमै गर्नु उपयुक्त होला भनेपछि त्यो रोकिएको थियो ।’ उनले गोवामा चिनियाँ पक्षसँग भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग समझदारी, रेलवे र बाटो लाइन
खोल्ने प्रोटोकल निर्माणजस्ता विषयमा सम्झौता तयारी भएको खुलाए । सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो संयुक्त भेट नियोजित नभएको दोहोर्याउँदै दाहालले घुमाउरो भाषामा भने, ‘त्यो
संयोगवश भएको भेट थियो, तर चाहनावश नै भएको थियो । तीन देशका कार्यकारीहरू एक ठाउँ बसेर ४० मिनेटसम्म कुरा गर्छन् भने त्यो चाहनाअनुसार थिएन भन्ने अर्थ लगाउन मिल्दैन ।’दाहालले भारतीय राष्ट्रपति
प्रणव मुखर्जी नेपाल आउने सन्दर्भमा दिइन लागेको बिदाप्रति नकारात्मक कोणबाट टिप्पणी भएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘पुरानो परम्परा हेरेर सर्वदलीय निर्णय गरिएको हो, व्यर्थै हटकेक बनाइयो,’
उनले भने, ‘यो राष्ट्रिय मामिला हो भन्ने बुझीबुझी तपाईंहरूले आलोचना गर्दैमा सरकारको निर्णय उल्टिँदैन । राष्ट्रको बारे पनि सोच्नुहोला ।’प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेसँग तिक्त
सम्बन्ध सहज बनिसकेकाले अब त्यसको सुखद प्रभाव संविधान कार्यान्वयनमा पार्ने बताए । बुधबार एमाले अध्यक्ष केपी ओलीसँग पहिलोपल्ट बालुवाटरमै कुराकानी गरेपछि दाहालले अब सम्बन्ध सुधार भएको टिप्पणी
गरे ।आफू राष्ट्रको प्रधानमन्त्रीका रूपमा भारतको राजकीय भ्रमणमा गएका बेला अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पत्रकार सम्मेलन गरेको विषयलाई दाहालले ‘अस्वाभाविक’ भन्दै टिप्पणी गरे । महाअभियोग
प्रस्ताव आउनुका पछि सोही कारण जिम्मेवार भने नरहेको उनको प्रस्टीकरण थियो । महाअभियोग प्रकरणमा माओवादी र एमाले एक ठाउँ उभिनुले कांग्रेससँग दूरी बढ्यो भन्ने विश्लेषण सही नभएको उनको दाबी थियो ।
महाअभियोगबारे राष्ट्रिय सहमति जुटाएरै निर्णय लिने उनले दोहोर्याए । उनले पहिले स्थानीय चुनाव गरेरै अन्य चुनाव गर्ने पनि बताए ।मोर्चा नेता भन्छन् : आइतबारै कुरा होलामोर्चा र संघीय गठबन्धन
नेताले भने सरकार र कांग्रेससँग भएको शनिबारको कुराकानीमा ठोस छलफल नभएको भन्दै आइतबार नै विस्तृत कुरा गर्ने अपेक्षा राखेका छन् । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सीमांकनलगायत विषयमा सहमति
जुट्न बाँकी नै रहेको दाबी गरे । ‘हामीले अढाइ महिना बित्दा पनि किन वार्ता हुन सकेन भनी जिज्ञासा राख्यौं, सहमति नजुटे एकतर्फी संशोधन प्रस्ताव अघि बढाउने हो कि भनी पनि सोध्यौं,’ उनले भने,
‘यसबारे भोलि नै कुरा हुन्छ ।’ प्रकाशित : कार्तिक १४, २०७३ ०७:०६ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com