
सडकको दुरवस्थाप्रति सांसदहरूको आक्रोश
Play all audios:

काठमाडौं — सडक निर्माण र विस्तारमा भएको लापरबाहीका कारण नालीमा बगेर बालिकाको ज्यान जानेसम्मका घटना भएपछि संसद्, संसदीय समिति र सांसदहरूबीच भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयका
काम एकीकृत योजना र सुरक्षा मापदण्डअनुरूप गराउनुपर्ने विषयमा बहस सुरु भएको छ । <?xml encoding="UTF-8"??> संसद्को बैठकमा बिहीबार विशेष समय लिएर बोल्ने अधिकांश सांसदहरूले
खानेपानीको पाइप बिछ्याउन र विस्तारका लागि भत्काइएका सडक तत्कालै जोखिममुक्त बनाउन माग गरे । संसद्को सार्वजनिक लेखा समितिले बिहीबारै मुख्य सचिवसहितका उच्च प्रशासनिक अधिकारीसँग छलफल गरी
राजधानीको अवस्था सुधार्ने उपाय खोजी गरेको हो । राजधानीको मनमैजुमा गत शुक्रबार ९ वर्षीया बालिका विनीता फुयालको नालीमा बगेर मृत्यु भएको थियो । त्यस क्षेत्रमा ढल राख्ने क्रममा बीचमै छाडिएको
खाल्डोका कारण बालिकाको ज्यान जाँदा पनि ठेकेदार, ठेक्का दिने निकाय, निर्माणको निरन्तर अनुगमन गर्नुपर्ने प्राविधिक कसैलाई पनि जिम्मेवार बनाएर कारबाही गरिएको छैन । त्यसै क्षेत्रको प्रतिनिधित्व
गर्ने कांग्रेस सांसद भीमसेनदास प्रधानले मृतक बालिका विनीता फुयालको स्मृतिमा अक्षयकोष स्थापनार्थ एक महिनाको पारिश्रमिक दिने घोषणा गरे । राजधानीका सडकहरू धरापमा परिणत भएको उल्लेख गर्दै
प्रधानले तत्कालै सुधारको माग गरे । बालिकाको ज्यान जानुमा ठेकेदार कम्पनी दोषी रहेको उल्लेख गर्दै नेमकिपाकी सांसद अनुराधा थापामगरले भने पीडित परिवारलाई लापरबाही गर्ने ठेकेदारबाटै क्षतिपूर्ति
भराउन माग गरिन् । लेखा समितिका सदस्यहरूले सहरी पूर्वाधार निर्माणको काम गरिरहेका सरकारी निकायबीच समन्वय अभावमा एउटा निकायले खनेको सडक पुनर्निमाणको काम नसकिँदै अर्कोले खन्ने नियति नदोहोर्याउन
सरोकारवाला निकायहरूको ध्यानकर्षण गराए । सहरी पूर्वाधार निर्माणको एकीकृत योजना र समन्वय अभावमा राजधानीका सडक जोखिमपूर्ण भएको निष्कर्ष निकाल्दै लेखा समितिले समस्या समाधानका लागि स्थानीय तहका
नवनिर्वाचित प्रतिनिधि र सरोकारवाला सरकारी निकायका अधिकारीहरूसहितको अर्को बैठक डाकेको छ । समितिका सदस्य रामहरि खतिवडाका अनुसार आइतबारको बैठकमा काठमाडौं र ललितपुर महानगर तथा भक्तपुर
नगरपालिकाका प्रमुख/उपप्रमुखलाई आमन्त्रण गरिएको छ । कम्तीमा ५ वर्षको एकीकृत योजना तय गर्न सुझाव दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले समयमा काम नगर्ने र बीचैमा काम छाडेर
अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए । मेलम्ची खानेपानी आयोजनाको पाइप पुर्ने प्रयोजनका लागि राजधानीका अधिकांश सडक खनिएका छन्
। खनिएका सडक पुर्ने काम नसकिँदै विद्युत् र सञ्चारका तारहरू जमिनमुनि गाड्ने काम सुरु हुन लागेका कारण राजधानीको हिलो र धूलोको समस्या जस्ताको तस्तै रहने अवस्था छ । ‘घाम लागे धूलो, पानी परे
हिलो, कतिन्जेल रहने,’ कांग्रेस सांसद खतिवडाले भने । उनले सरकारी निकायबीच समन्वय नहुँदा सडकमा मर्मत तथा निर्माणमा ढिलाइ भएको बताए । ‘सबै काममा प्रधानमन्त्रीको निर्देशन नै चाहिन्छ ? सडक
निर्माण गर्नेजस्ता सानातिना काम गर्न पनि प्रधानमन्त्रीले बोल्नुपर्ने ?’ उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन दिएका थिए ।
सांसद राजन केसीले कलंकी–नागढुंगालगायतका सडकको अवस्था नाजुक भएको बताए । ‘मर्मत नगरी किन भत्काउँछौं सडक, यो त जनतालाई सास्ती दिने काममात्र भयो,’ उनले भने, ‘चाँडो मर्मत तथा विस्तार गर्न पहल
गर्नुपर्यो ।’ उपत्यका विकास प्राधिकरण प्रमुख आयुक्त भाइकाजी तिवारीले मुआव्जा समस्याले सडक विस्तारमा समस्या भएको बताए । ‘प्रत्येक स्थानमा मुआव्जा समस्या छ, अर्थले मुआव्जाका लागि बजेट निकासा
गरिदिनु पर्यो ।’ विधेयकहरू समितिमासंसद्ले स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ४ विधेयक अघि बढाएको छ । संसद्ले बिहीबार स्थानीय शासन, कर्मचारी समायोजन, अन्तर सरकारी वित्त व्यवस्थापन र
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो । सम्बन्धित समितिहरूले संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूलाई समेत आमन्त्रण
गरी दफावार छलफल गर्नेछन् । समितिको सक्रियता, सम्बन्धित विभागीय मन्त्रीहरूको प्राथमिकता र संशोधनकर्ता सांसदहरूको तदारुकताले समितिबाट विधेयक पारित हुन लाग्ने समय यकिन (लामो/छोटो) हुन्छ । यी
कानुन अभावमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले काम थाल्न पाएका छैनन् । संसद्मा बिहीबारै सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयक पेस गरेको छ ।
सरकारले संघीय संसद्को निर्वाचनका लागि आवश्यक राष्ट्रियसभाका सदस्य निर्वाचन विधेयकको मस्यौदा भने तयार गरेको छैन । निर्वाचनसम्बन्धी विधेयकहरू छिटो अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमाले
नेता भीम रावलले सरकारी रवैयाकै कारण संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा संशय रहेको आरोप लगाए । ‘सरकारको चरित्र निर्वाचनप्रति जनतालाई आश्वस्त गर्ने खालको छैन,’ रावलले विहीबार संसद्मा भने,
‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक अझैसम्म किन दर्ता नगरेको ?’ संसद्मा विचाराधीन विधेयकहरू छिटो पारित गरी स्थानीय तहलाई काम गर्ने वातावरण बनाउन पनि उनले माग गरे । सत्तारुढ माओवादी केन्द्रका
सांसद जनकराज जोशीले स्थानीय तह शासन सञ्चालनका लागि कार्यकारी आदेश जारी गर्ने अभ्यासको गलत नजिर नबसाउन माग गरे । स्थानीय तह कानुनी शून्यताका अवस्थामा रहेको उल्लेख गर्दै जोशीले यस्तो बेला
सरकारले जारी गर्ने कार्यकारी आदेशलाई संसदको सामान्य बहुमतबाट पारित गर्ने नयाँ परिपाटी बनाउन प्रस्ताव गरे । ‘त्यसो गरिएन भने आजको सहजताका लागि जारी आदेशले भोलि विकराल अवस्था सिर्जना हुन्छ,’
उनले भने । ‘खाल्डाखुल्डी तीव्र रूपमा पुरिँदै’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा अघि बढिरहेको दाबी गरेको छ । लेखा समिति बैठकमा
जवाफ दिँदै मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडकलाई विभिन्न भागमा बाँडेर पुर्ने काम भइरहेको बताए । ‘खानेपानीको पाइप बिछ्याउन र सडक विस्तारका लागि सडक खनिएका छन्,’ उनले भने, ‘मर्मत तथा
खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।’ मेलम्ची खानेपानीअन्तर्गतका आयोजना कार्यान्वयन निर्देशनालय, उपत्यका सडक डिभिजन कार्यालय, सडक विस्तार आयोजना र उपत्यका विकास प्राधिकरणले भत्किएको सडक मर्मत
गर्ने काम भइरहेको उनले बताए । बैठकमा मुख्य सचिव राजेन्द्रकिशोर क्षत्री, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, अर्थ सचिव शान्तराज सुवेदी, उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त
भाइकाजी तिवारीलगायतको उपस्थिति थियो । अर्थ सचिव शान्तराज सुवेदीले सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाको क्षतिपूर्ति दिन नसकिने बताए । ‘कसैले सडकको जग्गा मिचेर बनाएको छ, त्यसलाई
क्षतिपूर्ति, जग्गा अधिग्रहण गर्दा मुआब्जा तथा क्षतिपूर्ति माग्छ भने त्यो दिन सकिँदैन,’ उनले भने, ‘सरकारले त्यो दिन सक्ने अवस्था पनि छैन ।’ मध्यमाञ्चल क्षेत्रीय सडकका निर्देशक शिवहरि
सापकोटाले रातदिन गरेर उपत्यकामा खाल्डाखुल्डी टाल्ने काम भइरहेको बताए । उनका अनुसार थापाथली–माइतीघर, गौशलाबाट जय बागेश्वरीलगायत विभिन्न स्थानको सडक मर्मत गर्ने काम भइरहेको छ । प्रकाशित :
श्रावण ६, २०७४ ०७:५४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल
हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क
ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com