
बन्ने भो भानुभक्तकालीन घर
Play all audios:

तनहुँ (चुँदीरम्घा) — नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदान अनेक छन् । लोकलयको मिठास भरेर ‘रामायण’ लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउनेसम्म । बहुभाषा र संस्कृतिलाई जोड्ने
सम्पर्क भाषा भानुकै कारण समृद्ध छ । <?xml encoding="UTF-8"??> अब यिनी जन्मिएको थलो तनहुँको शिखर कटेरीमा उनकै नाममा घर बन्दै छ । घरको नाम जुराइएको छ, ‘भानु शिखर कटेरी’ ।
साहित्यिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गराउने ध्येयका साथ पश्चिमाञ्चल विकास मञ्चले यो योजना अघि बढाएको हो । केही दिनअघि पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे, सरकारका मुख्यसचिव डा.
सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौड्याल र मञ्चका अध्यक्ष तथा साहित्यकार रामकाजी कोनेले भानु घरको शिलान्यास गरे । मञ्चले करिब ६८ लाख रुपैयाँ लागतमा भूकम्प प्रतिरोधात्मक दुईतले
भानुभक्तकालीन घर निर्माण थालेको हो । ‘धेरै प्रयासपछि मात्र भानुभक्तकालीन घर बन्न लागेको छ,’ भानुजन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटल भने, ‘यो क्षेत्रलाई साहित्यिक पर्यटनको
केन्द्र बनाउनुपर्छ भनेर लामो समयदेखि जुटै आएका छौं । अब कामले गति लियो ।’ पर्यटन विभागमार्फत् करिब महिना दिन अघिदेखि ६३ लाख रुपैयाँको लागतमा ‘रामायण भवन’ समेत निर्माण कार्य अघि बढी रहेको
उनले जनाए । भानुभक्तको ‘भग्नावशेष घर’ लाई भने त्यही स्वरूपमा नै संरक्षण गरिने योजना छ । ‘गुरुयोजनामा उल्लेख भएको योजनाहरू क्रमिक रूपमा सम्बोधन हुँदै जान थालेका छन्,’ उनले भने, ‘भानुभक्तको
भग्नावशेष घरलाई भने त्यही स्वरूपमा ट्रस्ट बनाएर संरक्षण गर्ने छौं । पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्त्वको उक्त घरको स्वरूप हराउने डर भएकोले यसो गर्नुपरेको हो ।’ गतवर्ष पर्यटन विभागबाटै
बस पार्किङ स्थल निर्माणको लागि २० लाख रुपैयाँ निकासा भएको पनि उनले खुलाए । भानुभक्तको उक्त घर भने भानु सामुदायिक वनको हाताभित्र पर्छ । वन क्षेत्रभित्र भवन बनाउन लागिएकोले आगोले क्षति
नपुर्याओस् भनेर ढलानगरिने र खरको छानाको स्वरूप दिने गरी भानुभक्तकालीन घर बनाइने मञ्चका अध्यक्ष कोनेले जानकारी दिए । भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरू बनाएर उक्त क्षेत्रलाई
भानुग्रामकै रूपमा विकास गर्ने लक्ष्य राखिएको कोनेले थपे । फूल तथा फलफूलका बगैंचा, संग्रहालय, चौतारा, भ्यु टावर, ढुंगाले छापेर बनाइएका बाटा र करिब ४०/५० जनालाई सजिलै राख्न सकिने होमस्टेको
व्यवस्थासमेत गर्ने गरी करिब ३ वर्ष अघि नै गुरुयोजना तयार भएको थियो । यही गुरुयोजना अन्तर्गत मञ्चले ‘भानु शिखर कटेरी’ नामक घर निर्माण थालेको हो । घरको कलात्मक डिजाइन गरेका हुन् स्वरुप कोनेले
। गुरु योजना अनुरूपको सबै संरचना तयार पार्न भने करिब १४ करोड रुपैयाँ आवश्यक पर्ने कार्यकारी निर्देशक रानाभाटले बताए । भानुभक्तले प्रयोग गर्ने खराउ, अम्खोरा, मधुस, खाट लगायत सामग्रीहरू हाल
भानु जन्मस्थल विकास समितिका कार्यालयमा राखिएको छ । भानुभक्तको ‘भग्नावशेष घर’ पृथ्वी राजमार्गको डुम्रेबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ । प्रकाशित : चैत्र २५, २०७२ ०८:०५ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com