‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

Play all audios:


पोखरा — पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी


पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए । <?xml encoding="UTF-8"??> पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र


४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती श्रेष्ठले आठ वर्षीय छोरा शीतल श्रेष्ठलाई गुमाइन् । टंकबहादुरका माइला दाइ शेरबहादुरले ६ वर्षीय नाति सुवान थापा र ११


वर्षीया नातिनी इशीका राईलाई गुमाए । शुक्रबार बिहान साढे २ बजे खसेको पहिरोले पोखरा–१८ सराङकोटको गोठादी गाउँ मृत्युको शोकमा डुब्यो । तनहुँ सागे गिरेपानीबाट बिहीबार पिंकीको जन्मदिन मनाउन


सरस्वती दुई छोरा शीतल र सन्देशलाई लिएर आएकी थिइन् । चार दिन यतै बस्ने, बहिनी र दिदीका दुई छोरीलाई गाउँमा लिएर जाने योजना थियो उनको । ज्यान गुमाउने सुवान र इशीका हजुरआमा रत्ना थापासँग पछि


लागेर पिंकीको घरमा पुगेका थिए । जन्मदिनमा आएका पिंकीकी फुपू चिजा गुरुङ, सुस्मिता गुरुङ, माइलाबुबाको छोरा श्याम थापा, छिमेकी राजेन्द्र थापा भने खानपिन गरेर घर फर्किएका थिए । बाँकी १३ जना


दुईवटा कोठामा बाँडिएर सुतेका थिए । टिनले छाएको तीन कोठे घरको एउटा कोठामा पिंकीका बुबा, आमा, सरस्वती र उनका दुई छोरा, श्यामका छोरा सुवान सुते । राति ११ बजे पिंकी र उनकी छोरी पिरिसा, पिंकीकी


बहिनी आशा, माइलाबुबाको कान्छा छोरा रसी र उनको साथी अनिश तामाङ, साइलाबुबाकी छोरी रश्मिसहित सात जना अर्को कोठामा बसेका थिए । केही बेरमै सबै मस्त निद्रामा परे । एक्कासि चटयाङको आवाजले निद्रा


भंग गरिदियो । सरस्वतीले जेठो छोरा १० वर्षीय सन्देश ‘मम्मी, मम्मी’ भन्दै चिच्याएको सुनिन् । दिदी सोममायाले ‘सरस्वती, सरस्वती’ भन्दै कताकता बोलाएको सुनिन् । उनलाई भने केले केले थिचेको जस्तो


भयो । ‘यसो आँखा खोलेर हेरेको बाहिर उज्यालो थियो,’ मणिपाल अस्पतालमा उपचार गरिरहेकी उनले भनिन्, ‘माथितिर हेरेको पहिरो खसिरहेको देखें । मैमाथि आकाश खसेजस्तो भयो ।’ पहिरोले १९ वर्षीय रसी र उनका


दामली अनिशलाई हुत्याएर मकै बारीमा पुर्‍याएको थियो । हिलैहिलोबाट निस्किएर उनीहरू गुहार माग्न दौडिएका थिए । उनीहरूबाटै थाहा पाएपछि छिमेकी र आफन्त उद्धारमा खटिए । १८ वर्षीया आशाको ओठ, कान र


हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये १९ वर्षीया रश्मि थापा मगरको अवस्था गम्भीर छ । उनको छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । बाँकीको अवस्था खतरामुक्त छ । घाइतेको उद्धारमा सराङकोटमा


रहेको प्रहरी बिटबाट दुई प्रहरी शुक्रबार ४ बजेतिर पुगेका थिए । पछि ६ बजे सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा पुगेको थियो । उनीहरूले घटनास्थलबाट पाँच जनाको शव निकाले । घाइते आठ जनामध्ये


पिंकीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीलाई मणिपाल शिक्षण अस्पताल पुर्‍याए । बागलुङ बसपार्कबाट गोठादी जाने बाटोको ३–४ ठाउँमा खसेको पहिरो पन्छाउँदै जानुपरेकाले केही समय लागेको प्रहरीले


जनाएको छ । घाइते पिंकीको दुईवटै खुट्टा भाँच्चिएको छ भने पाँच वर्षीया छोरी पिरिसाको देब्रे खुट्टा । म्याग्दी घोडेपानीका सन्तोष थापासँग उनको बिहे भए पनि सम्बन्ध धेरै समय टिकेन । घटना थाहा पाएर


पनि श्रीमान् भेट्न आएका छैनन् । ‘श्रीमान्ले साथ छोडिहाले, बुबाआमाले पनि संसार छोड्नुभयो,’ भक्कानो छोड्दै उनले भनिन्, ‘अब म कहाँ जाने ?’ ज्यान गुमाएका पाँचै जनाको शुक्रबार नै सामूहिक


दाहसंस्कार गरिएको छ । शुक्रबार पहिरोले पुरेको घर मोटरबाटोबाट झन्डै डेढ सय मिटर तल पर्छ । १५ किलोमिटर सडकमध्ये आधा यसअघि नै कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षमा हाल पहिरो गएकै स्थान


पँधेलीसम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा छ । ठेकेदारले लकडाउनको बहाना बनाउँदै बाटो आधाकल्चो छोडेका छन् । महानगरपालिकाबाट उल्टै म्याद थप गरेका छन् । १५ दिनअघि पनि बाटोमाथि खसेको सानो


ढिस्कोले पानी बग्ने नाला र ह्युमपाइप पुरेको थियो । बिहीबार रातिको पानीले बाटोको तलपट्टिबाट उकासेको प्लम्बिङ वाललाई खोतल्दै लगेको र घरमाथि बजारिएको मृतक टंकबहादुरका दाइ शेरबहादुर थापाले बताए 


। पहिरो हटाउन कसैले वास्ता नगर्दा भाइको परिवारले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘पर्खालको जग पनि बलियो गरी बनाएको रैन्छ,’ उनले भने, ‘यो ठेकेदारको कमजोरी हो ।’ ठेकेदार कम्पनीले चार महिनाअघि


उक्त वाल लगाएपछि बाटो स्तरोन्नतिको अन्य काम गरेको छैन । उक्त बाटोको ठेक्का निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको कम्पनीले पाएको छ । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले


मजदुर अभावमा ठेकेदारले काम अघि बढाउन नसकेको दाबी गरे । प्रकाशित : असार २७, २०७७ ०६:५६ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com