सामुदायिकमा ‘स्मार्ट कक्षा’

सामुदायिकमा ‘स्मार्ट कक्षा’

Play all audios:


(विर्तामोड) — हरि आचार्यका छोरा सरगम अढाई वर्ष पुगे  । यही उमेरमा आचार्यले छोरालाई विद्यालय पठाउन थालेका छन्  । <?xml encoding="UTF-8"??> नजिकैको सरस्वती आधारभूत विद्यालयमा


‘स्मार्ट बाल विकास कक्षा’ को आकर्षणले उनले छोरालाई पठाएका हुन् । फराकिलो कक्षा कोठा । कोठामा दुईवटा वातानुकूलित उपकरण जडान गरिएका छन् । लचकदार मेट्रेस छ । रंगरोगन गरी कक्षा कोठामा बालमैत्री


भित्तेलेखन सजाइएको छ । बसेर पढ्न मिल्ने राउन्ड टेबल । निद्रा लागे सुत्ने व्यवस्था । ह्वाइट बोर्ड, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था छ । कक्षा कोठामा बालबालिकालाई खेल्नका लागि


चिप्लेटी, ढिकिच्याउँ, चाकालचुकल, गाडी, पिङलगायतका पर्याप्त खेल सामग्री उपलब्ध छन् । हल्दिबारी गाउँपालिकाले यो बर्षदेखि गाउँका ५ विद्यालयमा ‘स्मार्ट बाल विकास कक्षा’ निर्माण गरेको छ ।


जिल्लामै पहिलोपटक हल्दिबारीले सरकारी विद्यालयमा एसीसहितको कक्षा कोठा निर्माण गरेको हो । ‘छोरालाई घरमा भन्दा स्कुलमा राम्रो वातावरण छ । त्यसैले उमेर नपुगे पनि छोरालाई स्कुल पठाउन थालेका छौं,’


आचार्यले भने, ‘महँगो पैसा लिने बोर्डिङ स्कुलमा भन्दा गाउँको सरकारी स्कुलको कक्षा कोठा धेरै राम्रो बनाइएको छ । केटाकेटीका लागि पर्याप्त सुविधा छन् ।’ हल्दिबारीले गाउँपालिकाका प्रत्येक वडामा


एक/एकवटा ‘स्मार्ट बाल विकास कक्षा’ निर्माण गरेको छ । गाउँपालिकाका १७ वटा विद्यालयमध्ये वडा– १ को गरमकाली आधारभूत विद्यालय, वडा–२ को सरस्वती आधारभूत विद्यालय, ३ को लक्ष्मी माध्यमिक विद्यालय,


४ को दीपेन्द्र प्राथमिक विद्यालय र ५ को मोति आधारभूत विद्यालयमा स्मार्ट बाल विकास कक्षा निर्माण गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए । ‘स्मार्ट कक्षा’ बनाएपछि बाल विकास कक्षामा


विद्यार्थीको चाप बढेको छ,’ लक्ष्मी माविकी बाल विकास शिक्षिका प्रमिला राजवंशीले भनिन्, ‘यो वर्ष बाल विकास कक्षामा ३६ जना विद्यार्थी छन् ।’ स्मार्ट कक्षा बनाएपछि विद्यार्थीहरू नियमित विद्यालय


आउने गरेको उनले बताइन् ।‘पहिला केटाकेटीलाई दिनभरि राख्न गाह्रो हुन्थ्यो । अहिले त स्कुल छुट्टी नहुँदासम्म कोही घर जाँदैनन्,’ उनले भनिन् । बाल विकास कक्षाका विद्यार्थीलाई प्रोजेक्टरमार्फत


भिडियो देखाएर पढाउने गरिन्छ । ‘ठूलो पर्दामा उनीहरूजस्तै केटाकेटीको भिडियो देखाउँदै पढाउँदा सबै नाच्दैँ–गाउँदै पढ्छन्,’ दीपेन्द्र प्राविकी शिक्षिका जानुका तोलाङ्गीले भनिन् । बाल विकास कक्षाका


विद्यार्थीलाई विद्यालयमा सामान्य दिवा खाजासमेत दिने गरिएको छ । सरकारी विद्यालयको अवस्था सुध्रिएपछि मोनिलाल मेचेले छोरीहरू प्रिमा र श्रीयालाई बोर्डिङ स्कुलबाट छुटाएर दीपेन्द्र प्राविमा भर्ना


गरेका छन् । ‘छोरीलाई बोर्डिङ स्कुलबाट छुटाएर यो वर्ष सामुदायिक स्कुलमा भर्ना गरिदिएको छु,’ मेचेले भने, ‘नानीहरूले एसी कोठामा पढ्न पाएका छन् । अंग्रेजी माध्यमबाट यही स्कुलमा पढाइ हुने


गरेकाले बोर्डिङबाट छुटाएको हुँ ।’ स्मार्ट बाल विकास कक्षा निर्माण गर्न ५ विद्यालयमा २५ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । ‘प्रत्येक विद्यालयमा २/२


थान एसी, एक/एक थान प्रोजेक्टर, रंगरोगन, कक्षा कोठा मर्मत, फर्निसिङ, खेलौना सेटलगायतमा प्रति विद्यालय ५ लाखका दरले खर्च भएको छ,’ घिमिरेले भने । स्मार्ट कक्षा निर्माणपछि विशेषगरी दैनिक मजदुरी


गर्न जाने विपन्न परिवारका बालबालिका बढी लाभान्वित भएको घिमिरेले बताए । ‘हाम्रो गाउँपालिकामा चिया बगान धेरै छन् । बगानमा काम गर्ने श्रमिकका छोराछोरी अचेल नियमित स्कुल आउन थालेका छन्,’ उनले


भने, ‘भिडियो हेर्दै पढ्न पाएका छन् । कक्षाकोठामै खेल्न पाएका छन् । दिउसो सामान्य खाजासमेत खान पाउँदा विपन्न परिवारका बालबालिका बढी आकर्षित भएका छन् ।’ प्रकाशित : आश्विन ८, २०७६ ११:१२


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com