
चलायमान बजार
Play all audios:

काठमाडौँ — कीर्तिपुरका किशोर आदित्यदेव जोशी ब्राजिली टोलीका समर्थक हुन् । उनी विश्वकपमा ब्राजिलको खेल हेर्न आतुर छन् । अझ भनौं, नेयमरको प्रदर्शनलाई व्यग्र छन् । त्यसैले त आफूलाई ब्राजिल अनि
नेयमरको खाँटी समर्थकको पहिचान दिन जर्सीको खोजीमा भौंतारिएका आदित्य परिवारसहित त्रिपुरेश्वरको डब्लूटीसीस्थित स्काई स्पोर्ट्स हाउसमा भेटिए । <?xml encoding="UTF-8"??> जेम्स
स्कुलको कक्षा ९ मा पढ्दै गरेका आदित्यले आफूलाई मिल्ने साइजको ‘नेयमर जेआर १०’ नाम लेखिएकै जर्सी भेट्टाए । उनी फुरुङग भए । क्लब फुटबलमा उनी चेल्सीका समर्थक रहेछन् । देशको टिममा उनलाई ब्राजिल
औधि मनपर्छ । तर बुवा जितेन्द्र भने जर्मन समर्थक । उनले पनि आफ्नो टिमको जर्सी किन्न छुटाएनन् । आमा अञ्जलीले भने कहिले छोरा त कहिले बुवाको टिमलाई समर्थन गर्ने सुनाइन् । पुस्तक व्यापारी यी
दम्पती भन्छन्, ‘परिवारमै यसरी फुटबल हेर्नुको मज्जै बेग्लै ।’ आदित्यलाई एक कक्षा पढ्दादेखि नै फुटबल खेलाडीको जर्सी किनिदिनुपरेको जितेन्द्रले सुनाए । भन्छन्, ‘उसलाई हरेक सिजन जर्सी
किनिदिनुपर्छ ।’ आफैं पनि फुटसल खेल्ने आदित्यले रुसमा हुने विश्वकप परिवारसँगै बसेर हेर्ने सुनाए । उनको कामना छ, ‘यसपल्ट ब्राजिलले विश्वकप जित्नुपर्छ ।’ ब्राजिल समूह चरणमा यसपालि
स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बियासम्मिलित समूह ‘ई’ मा छ । जुन १७ ब्राजिलले स्वीस टोलीसँग पहिलो खेल खेल्नेछ । रुसी सहरमा विश्वकप सुरु हुन एक साता मात्र बाँकी रहँदा नेपालमा पनि विश्वकपको
माहौल ह्वात्तै बढेको छ । आदित्यको परिवार त प्रतिनिधिपात्रमात्र हो । उनीजस्ता हजारौं परिवार दैनिकजसो जर्सी पसल पुग्छन् । कतिले सामाजिक सञ्जालको माध्यमबाट पनि अर्डर गरिरहेका हुन्छन् । सहरमा
आफ्नो मनपर्ने टिमको जर्सी लगाएर हिँड्ने जमात बाक्लिन थालिसकेको छ । जर्सीसँगै विश्वकपमा सर्वाधिक बिक्री हुने टेलिभिजन हो । जर्सी र टेलिभिजन दुवैको पसलहरूमा मान्छेको बाक्लै उपस्थिति भेटिन्छ ।
विश्वकपका क्रममा जर्सी र टीभीको बिक्रीले आर्थिक गतिविधिलाई चलायमान बनाइदिन्छ । विश्वकप सुरु भएपछि होटल, रेस्टुराँ, स्पोर्ट्स बारहरूको व्यापार पनि निक्कै बढ्नगे गरेको व्यापारीहरू सुनाउँछन् ।
बारहरूले राख्ने ठूलो पर्दामा साथीभाइ जमघट भएर हेर्नेको जमात पनि हरेक विश्वकपसँगै बाक्लिन थालेको छ । चार वर्षअघिको विश्वकप लोडसेडिङका कारण पनि टेलिभिजनको व्यापारमा मन्दी थियो । कुन साथीको
घरमा जेनेरेटर छ, टिभी धान्ने ब्याट्री राखेको छ, उसको घरमा गु्रप बनाएर हेर्न‘पर्ने अवस्था आउँथ्यो । यसपल्ट लोडसेडिङ छैन । अब साना साइजका टीभीमा होइन, ठूला साइजका स्मार्ट टीभीमा विश्वकप सजिलै
हेर्न पाइनेछ । त्यो पनि पहिलाभन्दा कम मूल्य तिरे पुग्ने । विश्वकपलक्षित गरेर विभिन्न ब्रान्डका टेलिभिजन कम्पनीले अफरहरू सार्वजनिक गरिरहेका छन् । स्काई स्पोर्ट्सका रवि गुरुङलाई विश्वकप २०१०
मा जस्तै जर्सीको व्यापार भएको लाग्दैन । त्यतिबेला महिना दिनअघि नै जर्सी बुकिङ हुन्थ्यो । बेच्न नभ्याउने गरी पसलमा भीड लाग्थ्यो । तर यसपल्ट त्यसमा कमी आएको ठान्छन् उनी । पहिला सीमित मात्रामा
जर्सी पसल हुन्थे । त्यसले गर्दा जर्सी किन्न त्यहीं पुग्नु पर्दथ्यो । अहिले त्यो अवस्था छैन । फुटपाथदेखि चोक–चोक, गल्ली–गल्लीका साना ठूला सबै पसलतिर जर्सी पाइन थाले । अनि सामाजिक सञ्जालका
माध्यमबाट पनि जर्सीको व्यापार तीव्र बढिरहेको छ । माहोल विगतमा भन्दा बढेको छ तर व्यापार बाँडिएकाले पनि जर्सीमात्र बिक्री गर्ने पसलहरूको व्यापार घटेको ठम्याइ छ साहस स्पोर्ट्स प्रालिका प्रबन्धक
जनक न्यौपानेको । उनले सुन्धारा, चाइना टाउनमा रहेको पसललाई पछिल्लो तीन विश्वकपमा अर्जेन्टिनीमय बनाएका थिए । नेपालीको अर्जेन्टिनाप्रति अगाथ समर्थनलाई इंगित गरेको उनले सुनाए । तर यसपल्ट उनले
त्यसो गरेका छैनन् । न्यौपानेका अनुसार यसपालि जर्मनीपछि अर्जेन्टिनाको जर्सी खोज्नेको बाहुल्य छ । त्यसपछि ब्राजिलको आउँछ । अघिल्लो विश्वकपपछि जर्सीको माग ह्वात्तै बढेको उनको अनुभव छ ।
सुनाउँछन्, ‘पछिल्ला वल्र्डकपहरूमा परिवारमा एउटा सदस्यको जर्सी हुन्थ्यो । अहिले परिवारका सबैले जर्सी माग गरिरहेका हुन्छन् । पहिला बच्चा, केटीको जर्सी पाउन गाह्रो हुन्थ्यो । अहिले
युवायुवतीदेखि बच्चासम्मलाई हुने जर्सी बजारमा सजिलै पाइन्छ । त्यसले गर्दा पनि जर्सीको व्यापार चौगुणा बढेको उनको दाबी छ । विश्वकपका क्रममा जर्सीमात्रै करोडौंको कारोबार हुने न्यौपानेको अनुभव छ
। चीन, थाइल्यान्डसँगै यसपालि बंगलादेशबाट आएका जर्सीले बजार लिइरहेको प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार गुणात्मक हिसाबले तीन स्तरका जर्सी पाइन्छन् । तिनीहरूको मूल्य ५ सयदेखि १२ सय
रुपैयाँसम्म पर्दछ । जर्सीसँगै विश्वकप सहभागी टिमका मफलर, क्याप, टी–सर्टसहित अन्य एसेसरिजहरूको व्यापार पनि बढ्दो छ । यसपल्ट विश्वकपमा इटाली त छनोट हुन सकेन । ६० वर्षयता पहिलोपल्ट इटाली
विश्वकप अनुपस्थित हुँदै छ । त्यसैले व्यापारीले इटालीको जर्सीप्रति ध्यान दिएनन् । तर बजारमा इटालीको जर्सी पनि माग भइरहेको छ । पुराना जर्सी वा टी–सर्टमा ‘आई मिस यु इटाली’ भन्दै जर्सी बनाइदिन
समर्थकहरू आइरहेको साहस स्पोर्टसका न्यौपाने बताउँछन् । ‘हाम्रो टिम (इटाली) नहुँदा विश्वकप खल्लो त हुन्छ नै । तर हामीहरू यही टी–सर्ट लगाएर यसपल्टको वल्र्डकप हेर्छौं,’ एक इटालियन समर्थक बताए ।
अन्तर्राष्ट्रिय ब्रान्ड एसिडाड, रिबोकको आधिकारिक बिक्रेता रुट्स फेसनका प्रबन्धक राजीव श्रेष्ठ पनि विश्वकप जर्सीको माग बढ्दो रहेको बताउँछन् । तर ब्रान्डेड जर्सीको बिक्री भने बजारको मागअनुरुप
छैन । यस्ता जर्सी महँगो पर्ने र ब्रान्डमा अभ्यस्त हुनेहरूको मात्र रोजाइ पर्ने उनको बुझाइ छ । श्रेष्ठका अनुसार विभिन्न ठाउँमा रहेका आउटलेटहरूमा एसिडासको उत्पादन जुन देशले लगाउँछ त्यही टिमको
जर्सीमात्र पाइन्छ । विश्वकपका पोस्टर, टाइसिटसहित विश्वकपलक्षित गरेर आउटलेट सजाइनुका साथै छुट दिइरहेको उनले बताए । यता, टेलिभिजन दुनियाँमा सम्बन्धित कम्पनीहरूले अफरहरू सार्वजनिक गरिरहेका छन्
। त्रिपुरेश्वरस्थित सीजी डिजिटल सोरुमका प्रतिनिधिले ग्राहकहरू वल्र्डकप अफर कुरेर बस्ने गरेको बताए । अन्य समयभन्दा विश्वकप हुँदा टेलिभिजन बिक्री बढ्दो हुन्छ । अहिले त च्वाइसअनुसार स्मार्ट
टिभीहरू पाइन्छ अनि त्यसमा पनि छुटको दर बढी हुँदा ग्राहकहरू आकर्षित हुन्छन् । विश्वकप अफिसियल प्रायोजक रहेको हाइसेन्स टिभीले पनि ‘फिफा वल्र्डकप महोत्सवमा १ हैन, २ हैन, ३ अफर’ सार्वजनिक गरेको
छ । त्यसमा पहिलोमा क्यासव्याक तथा ३० प्रतिशतसम्म छुट, दोस्रोमा स्क्र्याच एन्ड विनमा क्यास तथा गिफ्ट ह्याम्पर, तेस्रो लक्की ड्रमार्फत विभिन्न उपहार रहेको हाइसेन्सको बिक्रेता नवीन
ड्रिस्ट्रिब्युटर्स प्रालिले जनाएको छ । चौधरी गु्रपले हिमस्टार फुटबल मेला, बचत गर्ने बेला नगरौं है अबेला भन्दै छुट अफर दिएको छ । सामसङ, सोनी, फिलिप्स, एलजी, भिडियोकोन, सेन्साई, स्काईवर्थलगायत
दर्जनौं ब्रान्डका टीभीले पनि विश्वकपलक्षित अफर सार्वजनिक गरेका छन् । ‘कोक खाम्, रसिया जाम्’ भन्दै कोकाकोला नेपालले पनि आफ्नो विश्वकप अभियान पूरा गरिसकेको छ । अफिसियल पार्टनर कोकाकोलाले ४०
जना भाग्यशाली विजेता छनोट गरेको छ । उसले उनीहरूलाई विश्वकपका विभिन्न खेल देखाउन रुस लैजाने छ । यस अभियानमा हजारौं सहभागी भए । कोक, फ्यान्टा, स्प्राइन्टको बिक्रीले पँँजीबजारलाई चलायमान पारेको
थियो । विश्वकपको अफिसियल पार्टनर हुन्डाईले विश्वकपलक्षित अभियान चलाउँदै गाडी खरिदमा छुटसँगै रुसी विश्वकपको फाइनल हेर्ने टिकटको अफर ल्याएको छ । नेपाल विज्ञापन एजेन्सी संघ (आन) का
रवीन्द्रकुमार रिजाल विश्वकपले सीमित समय भए पनि आर्थिक गतिविधिलाई चलायनमान बनाउने बताउँछन् । उनका अनुसार नेपालमा पनि फुटबल संस्कारको विकास हुँदै गरेको मान्न सकिन्छ । टेलिभिजन, पत्रपत्रिका,
पछिल्लो समय अनलाइनहरूमा महिना दिनभन्दा अघिबाट विश्वकपसम्बन्धी विज्ञापनहरू देखिन थाल्छ । बजारमा जर्सी, टेलिभिजनको व्यापार पनि त्यत्तिकै बढेको छ । खेल सुरु भएपछि रेस्टुराँ, बारहरू भरिभराउ हुन
थाल्छन् । चौतर्फी प्रभाव पारिरहेको देख्न सकिन्छ । अध्यक्ष रिजालले यकिन तथ्यांक उपलब्ध नभए पनि विश्वकपमा पत्रपत्रिकाको विज्ञापनमै झन्डै १०–१५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरे । आनका
पूर्वअध्यक्ष सन्तोष श्रेष्ठले यसापलि टेलिभिजनमा विश्वकपको विज्ञापन १५ करोड बढीको बढ्ने विश्वास व्यक्त गरे । ‘विश्वकपका क्रममा सबै क्षेत्रको बिजनेसलाई समग्रमा हेर्ने हो भने ५० करोडमाथिको
कारोबार हुने गर्छ,’ उनले भने । प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com